कार र बस ठोक्किँदा उपप्रधानमन्त्री खड्काकी भाइ बुहारीसहित २ जनाको मृत्यु 

 काठमाण्डौँ - नेपालगञ्ज, पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–८ मुगुवा खोला नजिकै मंगलवार बेलुका भएको दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइ बुहारी डा। सञ्जु खाती खड्का र कार चालक गोरखाका ३७ वर्षका सुवास अधिकारीको घटना स्थलमै मृत्यु भएको छ ।

नेपालगञ्जबाट काकरभिट्टाका लागि छुटेको भे १ ३३३५ नम्बरको बस र पूर्वबाट पश्चिम जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार ठोक्किँदा डा। सञ्जु खाती र चालक अधिकारीको मृत्यु भएको इलाका प्रहरी कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले बताए ।

बस चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको र बसमा सवार भने सकुशल रहेको डिएसपी तिवारीले बताए । दुर्घटनामा परी बसमा सवार ६ जना सामान्य घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको छ ।