देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न, गत वर्षभन्दा १३ प्रतिशतले कमी 

 काठमाडौँ - देशभर ७७ प्रतिशत धान रोपाइँ सकिएको छ । १२ साउनसम्म नेपालमा कुल धान रोपाइँ हुने भूभागमध्ये ७७ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

गत वर्षको यही अवधिमा ९० प्रतिशत भूभागमा धान रोपाइँ भएकोमा चालुआर्थिक वर्षमा ढिला गरी मनसुन सुरु भएको र मनसुन सुरु भएपनि पर्याप्त वर्ष नहुँदा धान रोपाइँ कम भएको हो ।

नेपालमा कुल १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको मन्त्रालयले जनाएको छ । जसमध्ये १२ साउनसम्म १० लाख ५३ हजार ४०४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

प्रदेशगत रुपमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाइँ भएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिमा धान रोपाइँ हुने ९९ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । गत वर्ष पनि १२ साउनसम्म सुदूपश्चिममा ९९ प्रतिशत नै धान रोपाइँ सकिएको थियो ।