चाडपर्वको मुखमा जनताले चर्को मुल्यबृद्धि खेप्नुपर्ने मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलयबृद्धि तत्काल रोक्न र साबिककै मूल्य कायम गर्न निर्देशन दिएका हुन् ।

आज बसेकाे मन्त्रिपरिषद् बैठकपछि सञ्चारकमीहरूसँग कुरा गर्दै सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘चाडपर्वको मुखमा जनताले चर्को मुल्यबृद्धि खेप्नुपर्ने मध्यनजर गरेर प्रधानमन्त्रीज्यूले मुल्यबृद्धि तत्काल रोक्ने र साबिककै मूल्य कायम गर्ने निर्देशन गर्नु भएको छ ।

पुरानै मूल्य कायम हुँदा ग्यासको मूल्य प्रतिसिलिण्डर १८९५ रुपैयाँ हुनेछ । यस्तै, पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८०.५ रुपैयाँ, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १८२ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८३ रुपैयाँ कायम हुनेछ ।

त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७०.५, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ प्रतिलिटर हुनेछ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ नै कायम हुनेछ ।