बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा फिर्ता गर्न मालपोत कार्यालय डिल्लीबजारले गरेको निर्णय फाइल झिकाउन आदेश

सर्वोच्च अदालतले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा फिर्ता गर्न मालपोत कार्यालय डिल्लीबजारले गरेको निर्णय फाइल झिकाउन आदेश दिएको छ। पेशीको दिन सक्कल फाइल देखाउने गरी झिकाउन आदेश भएको छ ।

मालपोत कार्यालय डिल्लीबजारले १० रोपनी जग्गा फिर्ता गर्न गत माघ २५ गते च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि) बाँसबारीको नाममा पत्र काटेको थियो।  मालपोतले २१ दिनभित्र प्रतिनिधि कार्यालयमा हाजिर हुनू र नआएमा कानुनबमोजिम हुने भन्दै पत्र काटेको थियो। 

टोखा नगरपालिका वडा नम्बर ६ का अध्यक्षको रोहबरमा चाँदवागका सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरको नाममा पत्र काटेको थियो। उक्त पत्रको विरूद्धमा सञ्जयले रिट दायर गरेका थिए। त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश जारी गरेको हो। बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो।

सिआइबीले तीन महिनाभन्दा बढी समय अनुसन्धान गरेर उक्त सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै तीन जनालाई पक्राउ गरेको थियो। कारखानालाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्‍गा लिएर त्यहाँ सिजी चाँदवाग रेजिडेन्सी बनाइएको थियो। त्यसबारे सिआइबीले पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो। जसक्रममा उनीहरूले १० रोपनी मात्रै नभएर त्यहाँ रहेको १८ रोपनी जग्गा नै हडप्न खोजेको सिआइबीले बताएको थियो।