नवलपरासी कावासोतीस्थित छिपछिपे सहकारीको रकम अपचलनमा राप्रपा सांसद बस्नेतसहित ३५ जनाविरूद्ध मुद्दा दायर

सहकारीको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रतिनिधि सभा सदस्य गीता बस्नेतसहित ३५ जनाविरूद्ध मुद्दा दायर भएको छ। आइतबार जिल्ला सरकारी वकिल कार्यालय पूर्वी नवलपरासीले जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्था लिमिटेडका बचतकर्ताको रकम अपचलन मुद्दामा ३५ जनाविरूद्ध मुद्दा दायर भएको हो। उनीहरूमध्ये जना पक्राउ परेका छन् र सांसद बस्नेतसहित बाँकी २५ जना फरार छन्। पक्राउ पर्नेहरूमा ३६ वर्षीय योगेन्द्र पाण्डे, ३४ वर्षीय शिवलाल लामिछाने, ५० वर्षीय नगेन्द्रबहादुर रिमाल, ४८ वर्षीय ढुण्डिराज गौतम, ३८ वर्षीय कृष्णप्रसाद ज्ञवाली, सञ्जिव कुमार महतो, ३४ वर्षीय विकास सापकोटा, ३७ वर्षीय तिर्थराज पैनी, ३१ वर्षीया सुनिताकुमारी न्यौपाने र ४६ वर्षीय गोपिकृष्ण शर्मा छन्। उनीहरूविरूद्ध १६ करोड ५६ लाख ९४ हजार ३१ रूपैयाँ अपचलन गरेको आरोप छ। 

सहकारीका कार्यालय प्रमुख योगेन्द्र पाण्डेले विभिन्न व्यक्तिको काल्पनिक खाता खडा गरी ऋण लगानी गरेको देखाउने तर रकम आफूले खर्च गरे जसरी झुटा विवरण तयार गरी रकम हिनामिना गरेको आरोप छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले पत्र लेखेपछि सहकारी रजिस्ट्रारको कार्यालय पोखराबाट वित्तीय विश्लेषण तथा अन्य गतिविधि छानबिन गर्न प्रहरीलाई पत्र लेखिएको थियो। सांसद गीता बस्नेतमाथि सहकारीको करिब ९६ लाख रूपैयाँ कृष्णसार रिसोर्ट प्रालिको नाममा दाखिला गराएर हिनामिना गराएको आरोप छ। त्यस्तै उनले आफ्ना ज्वाइँ अध्यक्ष रहेको सनराइज सहकारीमा रकम दाखिला गर्न लगाएको आरोप छ।

त्यस सहकारीमार्फत रकम अपचलन गरेकाले राष्ट्रिय सहकारी बैंकको कर्जाको रकम तिर्न करिब ५४ लाख रूपैयाँ हिनामिना गरेको आरोप पनि छ। उनीविरूद्ध प्रतिवादीहरू ढुण्डिराज गौतम, योगेन्द्र पाण्डे, नगेन्द्रबहादुर रिमाल, सञ्जिव कुमार महतो लगायतले बयानमार्फत खुलाएका हुन्। सरकारी वकिलको प्रतिवेदन अनुसार बस्नेतले सहकारी ऐन, २०७४ को दफा १२२ को (त) बमोजिम कसुर गरेको पुष्टि भएको दाबी उल्लेख छ।