विशेष अदालतका तीन न्यायाधीशविरुद्ध न्यायपरिषदमा उजुरी क्यासिनोको फर्जी किनबेचलाई अदालतको मान्यता

क्यासिनो किनबेचको फर्जी कारोबारसम्बन्धी विशेष अदालतको एक फैसलालाई लिएर न्यायपरिषद्मा उजुरी परेको छ । कारोबारलाई मान्यता दिँदै विशेषले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको भन्दै न्यायपरिषद्मा तीन न्यायाधीशविरुद्ध उजुरी परेको हो । 

रोयल क्यासिनोका सञ्चालक सुरेन्द्रबहादुर सिंहविरुद्ध २७ करोड ६७ लाख बिगो कायम गरी दायर भएको मुद्दामा विशेष अदालतले सफाइ दिएको हो । पर्याप्त प्रमाण हुँदाहुँदै दूषित मनसायले फैसला गरेको भन्दै छानबिनको माग गरी भेषराज लुइँटेलले उजुरी गरेका हुन् । 

गत १३ वैशाखमा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सफाइको फैसला गरेको थियो । न्यायपरिषद् स्रोतका अनुसार उजुरीमा तीनै न्यायाधीश र उनीहरूका आफन्तमाथि समेत छानबिनको माग गरिएको छ । फैसलाको पूर्णपाठ भने आएको छैन ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १५ कात्तिक ०७९ मा सिंहसहित उनकी श्रीमती शारदादेवी सिंह, छोरा जीवनबहादुर सिंह, कर्मचारी जयन्ती थापा र उनको कम्पनी गिल्ट इन्भेस्टमेन्ट प्रालिलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । 

जयन्ती थापामगरसमेतको मिलेमतोमा कृत्रिम आर्थिक कारोबार देखाई आर्थिक तथा कानुनी उद्देश्य लुकाउने, कारोबारमा जटिलता सिर्जना गर्नेलगायत कार्य गरी कसुर गरेको विभागको अभियोग थियो । कसुरबाट आर्जित सम्पत्ति एकाघरका परिवारका सदस्य शारदादेवी सिंह र छोरा जीवनबहादुर सिंहको नाममा राखी घरजग्गा खरिद–बिक्री गरेको तथा सम्पत्तिको स्रोत, प्रकृति र स्वरूप बदल्न विभिन्न कम्पनीमा लगानी गरेको पनि आरोपपत्रमा उल्लेख छ । 

सिंहले रोयल क्यासिनो सञ्चालन गर्ने गिल्ट इन्भेस्टमेन्ट कम्पनीकी सुपरभाइजर रहेकी जयन्तीलाई २५ करोडमा बिक्री गरेका थिए । सेयर बिक्री गर्दा २५ करोड रुपैयाँको चेक दिए पनि त्यो बनावटी मात्र भएको स्वयं थापाकै बयानबाट पुष्टि हुन्छ । 

थापाले आफू सामान्य कर्मचारी भएको र मासिक एक लाख तलब तथा १० प्रतिशत सेयर दिने प्रलोभनमा आफ्नो नाममा कम्पनी बिक्री गरिएको उनले बयानमा बताएकी थिइन् । ‘कम्पनीको सेयर मेरो नाममा राख्न अनुरोध गरी सो राखेबापत मलाई मासिक एक लाख खर्च दिने र १० प्रतिशत सेयर दिने भनी विश्वास दिलाएको उक्त कम्पनीको सम्पूर्ण सेयर मेरो नाममा राख्नका लागि मैले मञ्जुर गरेको हो । सेयर खरिद गर्दा भुक्तानी दिनका लागि बैंक चेक दिएको हो, रकम भुक्तानी गर्नका लागि होइन । उक्त चेक पछि मलाई सुरेन्द्रबहादुर सिंहले फिर्ता ल्याइदिएको र मैले च्याती फ्यालिदिएको हुँ,’ उनले बयानमा भनेकी छिन् ।

अवैध सम्पत्ति शुद्धीकरण गर्नकै लागि उनले यसरी कर्मचारीका नाममा २५ करोडको कम्पनी राखेका हुन् । बैंकबाट २५ करोड चेकबाट लेनदेनको कुनै कारोबार नभएको भनेर पुष्टि गर्नुले पनि फर्जी कारोबार र सम्पत्ति शुद्धीकरण गरेको प्रस्ट देखिने अवस्था छ । तर, यस्तो फर्जी कारोबारलाई समेत मान्यता दिएर अदालतले सफाइ दिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि असन्तुष्टि जनाएको छ । सो क्यासिनोमा आतंकवादी गतिविधिमा संलग्न व्यक्तिको समेत लगानीको आशंका गरी विभागले अनुसन्धान गरेको थियो । 

साथै, सिंहले काठमाडौंको दरबारमार्गमा दरबार बुटिक होटेलका नाममा दुई रोपनी आठ आना तीन पैसा जग्गा खरिद गरेका थिए । बैना गर्दा ६० करोडको कागज गरेर पछि ३० करोडमा मात्र किनेको दाबी गरेको थियो । सो जग्गा राखेर बैंकबाट २४ करोड ऋण लिएकाले पनि मालपोतमा कर छल्न त्यसरी न्यून मूल्यांन गरिएको विभागको दाबी थियो । दरबारमार्गजस्तो ठाउँमा होटेलसहितको जग्गा न्यून मूल्यमा खरिद गरेर कल छलेको समेत अभियोग थियो । 

क्यासिनो सञ्चालक सिंह विगतमा विभिन्न अपराधमा पक्राउ परी दोषीसमेत ठहर भएका व्यक्ति हुन् । सिंहले झापा, भैरहवा, नेपालगन्ज र धनगढीमा ‘ह्याप्पी आवर’ क्यासिनो सञ्चालन गर्दै आएका थिए । क्यासिनोमार्फत विदेशी मुद्रा (भारु र अमेरिकी डलर)को अवैध कारोबार, जुवासम्बन्धी लगायतका कसुरसमेतबाट आर्जन गरेको सम्पत्तिको गैरकानुनी स्रोतको तह–तहमा रूपान्तरण, परिवर्तन, छल्ने, बदल्ने, हस्तान्तरण गर्नेसमेतको निषेधित कार्य गरेको विभागको दाबी थियो । 

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले समेत गिल्ट इन्भेस्टमेन्ट प्रालिको खाताको शंकास्पद कारोबार देखिएको पुष्टि भएको भन्दै विभागलाई पत्राचार गरेको थियो । साथै, सिंहका कम्पनीले राज्यलाई कराडौँ रोयल्टीसमेत नतिरेको विषयलाई समेत कसुरको आधार बनाइएको थियो । यथेष्ट प्रमाण हुँदा पनि सफाइ दिएको भन्दै न्यायपरिषद्मा उजुरी परेको हो । 

सिंहका क्यासिनोले एक अर्ब ३३ करोड तिर्न बाँकी 
सम्पत्ति शुद्धीकरणमा सफाइ पाएका सुरेन्द्रबहादुर सिंहका क्यासिनोले सरकारलाई एक अर्ब ३३ करोड रुपैयाँ रोयल्टी तिर्न बाँकी छ । याक एन्ड यतीको रोयल क्यासिनोको ७३ करोड ९५ लाख तथा हेप्पी आवरको ५९ करोड २९ लाख रुपैयाँ छ । हेप्पी आवरमार्फत सिंहले काँकडभिट्टाको होटेल ढाका, महेन्द्रनगरको होटेल डायमन्ड प्यालेस, भैरहवामा होटेल लाकौल तथा नेपालगन्जमा होटेल ड्रिमल्यान्डमा क्यासिनो चलाएका थिए । रोयल क्यासिनो हाल बन्द भइसकेको छ । रोयल्टी नतिर्दा पनि उनले अदालतबाट स्टे अर्डरका आधारमा मिनी क्यासिनोहरू चलाइरहेका छन् । यो समाचार नयाँपत्रिका दैनिकबाट साभार गरिएको हो ।