सुन तस्करीका नाइके दावा छिरिङले जिल्ला प्रशासन काभ्रेबाट लिएको नागरिकता रद्द

नेपालमा सुन तस्करी गर्ने चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङको नेपाली नागरिकता रद्द गरिएको छ । गृह मन्त्रालयको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद् बैठकले छिरिङको नागरिकता रद्द गरेको हो ।

उनले झुटा विवरण पेस गरी निमा तामाङको नाममा काभ्रेबाट नेपाली नागरिकता लिएका थिए । उनले २० पुस ०७४ मा काभ्रेको नमोबुद्ध नगरपालिका ठेगाना राखेर निमा लामाको नाममा नेपाली नागरिकता बनाएका थिए । तिब्बती मूलका उनीसँग पछिल्लो समय बेल्जियमको नागरिकता र पासपोर्ट छ । छानबिनमा उनले झुटा विवरण पेस गरी नागरिकता लिएको पुष्टि भएकाले रद्द गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । 

ठमेलमा उनको होटेल छ । व्यवसायको आवरणमा उनले सुन तस्करी, हुन्डीलगायत आपराधिक गतिविधि गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ । सुन तस्करी मुद्दामा हाल उनी पुर्पक्षका लागि थुनामा छन् । छिरिङसँगै पक्राउ परेका अन्य तीन चिनियाँ नागरिकको पनि नेपाली नागरिकता भेटिएको छ । ती नागरिकता पनि रद्द गर्ने प्रक्रिया अघि बढेको गृह मन्त्रालयले जनाएको छ । 

सुन तस्करी मुद्दाको अनुसन्धान पूरा भएपछि नागरिकताको विषयमा पनि छानबिन सुरु भएको छ । यस विषयमा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेलाई पत्राचार गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता नवराज अधिकारीले बताए । 

अन्य चिनियाँहरू सेग फा डिङ, वेन–ती सुङ ली र नेनकाल लीको पनि नेपाली नागरिकता भेटिएको छ । डिङले राम लामाको नाममा, वेन–तीले छिरिङ लामाको नाममा तथा नेनकालले सोनाम लामाको नाममा नागरिकता लिएका थिए । ती नागरिकता पनि रद्द गर्ने प्रक्रिया गृह मन्त्रालयले अघि बढाएको छ । 

साथै, यो प्रकरणमा जिल्ला प्रहरी कार्यालयले पनि अनुसन्धान अघि बढाएको छ । चारैजना चिनियाँलाई जिल्ला अदालत काभ्रेले नागरिकतासम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिसकेको छ । नागरिकता दिलाउन सघाउने अन्य व्यक्तिमाथि भने अनुसन्धान सुरु भइसकेको छैन । चिनियाँहरूको बयानपछि यसमा संलग्न थप व्यक्तिमाथि अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले बताए ।