अर्कोको नाममा घरजग्गा कारोबार गर्ने सुनिलकुमार सिंह सम्पत्ति शुद्धीकरणमा दोषी ठहर, दुई करोड २६ लाख जरिबाना

विशेष अदालतले अकुत आर्जनले अर्कोको नाममा घरजग्गा कारोबार गर्ने सुनिलकुमार सिंहलाई सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गरेको छ । अदालतले दोषी ठहर गर्दै दुई करोड २६ लाख ३९ हजार ७०२ रुपैयाँ जरिबाना र तीन वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले अकुत आर्जनको  पैसाले मीना कार्कीको नामबाट घरजग्गा कारोबार गर्ने सिंहलाई यही फागुन १५ गते दोषी ठहर गरेको थियो ।

बिहीबारको इजलासले सजाय निर्धारण गरेको हो । सिंहले कार्कीको नामबाट कारोबार गरेको देखिँदा मतियार ठहर गर्दै उनका नाममा रहेको जग्गा र बैंकमा संयुक्त खातामा रहेको रकम जफत हुने फैसला भएको हो ।