मुगुमा हतियार देखाइ लुटपाट गर्ने समूह अत्याधुनिक हतियार एसएलआर सहित पक्राउ

मुगुमा हतियार देखाइ लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–१, डोल्फु गाउँमा हातहतियारसहित प्रवेश गरी गोली चलाएर धनमाल लुटपाट गर्ने तीनजनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका–३ बस्ने गणेश भण्डारी, पूर्णप्रसाद भण्डारी र कमल थापा रहेका छन् । सो समूहले डोल्फु गाँउमा स्थानीयहरूलाई कुटपिट गरी डर त्रासमा पारी सोही गाउँका २४ वटा घर र एउटा गुम्बा समेत तोडफोड गरेका थिए । तोडफोड गरी नगद पैसा, सुन, चाँदी, यार्सा, मूर्ति, मोबाइल समेतका धनमाल लुटेका थिए । 

लुटेरा समूहबाट प्रहरीले एसएलआर, सोको म्यागजिन दुई थान, २५ राउन्ड गोली, कटुवा पेस्तोल एक थान, कम्ब्याट रंगको रेनकोट पाँच जोडी, सुनका मारवाडी र रिङ थान चार वटा बरामद गरिएको छ ।