माेदीकाे शपथ समाराेहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्ली प्रस्थान

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे शपथ ग्रहण समाराेहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली प्रस्थान गरेको छ । प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ र नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी छाेरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्च पदस्थ सरकारी अधिकारी पनि छन् । तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टी (भाजपा) का नेता मोदीले भारतको प्रधानमन्त्री पदको आज बेलुकी शपथ लिनुहुने कार्यक्रम छ । शपथ समारोहपछि प्रधानमन्त्री प्रचण्ड र उहाँका समकक्षी मोदीबीच आजै भेटवार्ता हुने कार्यक्रम रहेको नयाँ दिल्लीमा रहेकाे नेपाली राजदूतावासले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड भाेलि स्वदेश फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्ली प्रस्थान गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई तोकेको छ ।