धितोपत्र बोर्डले वित्तीय विवरण नबुझाउने वा ढिलो गरी बुझाएका ८८ कम्पनीलाई कारबाही गर्यो, ५० हजारदेखि १ लाख रुपैयाँसम्म नगद जरिवाना

नेपाल धितोपत्र बोर्डले एकै पटक ८८ कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको छ । धितोपत्र बोर्डको सोमबार बसेको सञ्चालक समिति बैठकले वित्तीय विवरण नबुझाउने वा ढिलो गरी बुझाएका कम्पनीलाई कारवाही गर्ने निर्णय गर्दै स्पष्टीकरण सोधेको बोर्डका सूचना अधिकारी तेज प्रसाद देवकोटाले बताए ।

वार्षिक वित्तीय विवरण त्रैमाससिक वित्तीय विवरण लगायतका विवरणहरु समयमा नबुझाउने कम्पनीलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्दै स्पष्टीकरण सोध्ने निर्णय भएको हो । ढिलो गरी वित्तीय विवरण बुझाउने ६९ कम्पनीलाई र वित्तीय विवरण नबुझाउने १९ कम्पनीलाई स्पष्टीकरण सोध्ने निर्णय भएको उनले बताए । सबै कम्पनीलाई मंगलबार नै पत्राचार गरिसेको देवकोटाले जानकारी दिए ।

धितोपत्र बोर्डले यसअघि गत ११ साउनमा एक सूचना जारी गर्दै समयमा नै वित्तीय विवरण प्रकाशित गर्न आह्वान गरेको थियो । त्यसैबेला समयमै विवरण नबुझाए धितोपत्र सम्बन्धी ऐनको दफा १०१ अनुसार कारवाही र जरिवाना गर्ने चेतावानी दिएको थियो ।