६० केजी सुन प्रकरणमा थप १६ जना कारागार चलान, तीन जनासँग धरौटी माग

६० किलो सुन तस्करीमा संलग्न आरोपमा पक्राउ परेका १६ जनालाई अदालतले पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँले बुधवार थुनछेक बहसपछि ३ जनासँग धरौटी माग गरेको छ । धादिङ सिद्धलेक–५ घर भएका राजु थापा भन्ने प्रेमनाथ सेढाईंसँग ५७ लाख र रूपक भण्डारीसँग ९६ लाख धरौटी माग गरिएको छ । काभ्रेको तेमाल गाएँपालिका घर भएका कान्छा लामासँग ९६ लाख धरौटी माग गरिएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ ।

दोस्रो चरणको अनुसन्धानमा पक्राउ परेका २० जना मध्येका सुशिल ज्याकिबन्जालाई मुद्दा नचलाउने निर्णय गरिएको थियो । अदालतले १६ जनालाई थुनामा राख्न आदेश गरेको छ । भारतीय नागरिकहरू सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, धिरज दिनेश वैटे ‘दिनेश’, बैजनाथ ब्रम्हादत्त गोयल र प्रशान्त गणेश वजवलकारलाई अदालतले पुर्पक्षका लागी थुनामा पठाएको छ ।

वीरगन्ज महानगरपालिका–१६ घर भएका सुरेन्द्रमान श्रेष्ठ, भक्तपुरका राजु खत्री, पेवेल नेपालका अध्यक्ष भीम प्रसाद तिमल्सिना, पेवेलका सहायक कार्यकारी अधिकृत प्रज्वल आचार्य र पेवेलका संचालक सुरज सम्शेर जबरालाई थुनामा राख्न आदेश गरिएको छ । सजिलो पेका फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, चिनियाँ नागरिक कङ्का चासी ‘राजु भोटे’ सजिलो पे का कश्यप मानन्धरलाई थुनामा पठाइएको छ । जेके मनि ट्रान्सफरका लाल बहादुर कुँवर, पशुपति कन्सर्नका संचलक अरुण कुमार यादव पनि पुर्पक्षमा गएका छन् ।

चिनियाँ नागरिक सोनाम गुरुङ र मनोजराज श्रेष्ठलाई पनि थुनामा राख्न आदेश भएको छ । उनीहरुलाई केन्द्रिय कारागार सुन्धारा चलान गरिएको सीआईबीका एकजना अधिकृतले जानकारी दिए । सुन तस्करीमा संलग्नहरुबारे सीआईबीले दोस्रो चरणको अनुसन्धान गरेको थियो ।६० केजी सुन तस्करीमा संलग्न समूहले ३ हजार १९४ केजी सुन तस्करी गरेको विज्ञ समूहको निष्कर्ष छ । काठमाडौँका विभिन्न स्टोरबाट बरामद गरिएको स्मार्ट बाच, पानी तान्ने मेशिन, दाह्री काट्ने मेशिन र ब्रेक प्याडको गहिराई विश्लेषण गरेर विज्ञ समूहले सो निष्कर्ष निकालेका हुन् ।

पहिलो चरणको अनुसन्धान प्रतिवेद बुझाएपछि सीआईबीले विज्ञ समूह गठन गरेको थियो । विज्ञ समूहले दिएको प्रतिवेदनमा बरामद भएका सामानको गहिराई विश्लेषण गर्दा ३ हजार १९४ केजी सुन ल्याएको उल्लेख छ ।