प्रहरी उपरीक्षकले चलाएको गाडीको ठक्करबाट झापामा एक युवकको मृत्यु

सुनसरी धरानमा कार्यरत प्रहरी उपरीक्षकले चलाएको गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा कमल गाउँपालिका-६ निवासी १८ वर्षीय अनिल मर्डी रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

पूर्व पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका-८ बिरिङ पुल नजिकै शुक्रबार राती ७ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ च ७८३९ नम्बरको स्कारपियो र बिपरित दिशाबाट आउँदै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल ठोक्किंदा दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएका मर्डीलाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो। मोटरसाइकलमा ३ जना सवार थिए। दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका-६ निवासी १९ वर्षीय खगेन्द्र ताजपुरीया र सोही ठाउँका १८ वर्षीय पुजन राजवंशी घाइते भएका छन्।

स्कारपियोका चालक संघीय प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी उपरीक्षक ५१ वर्षीय भीमबहादुर दाहाल रहेका छन्। उनी प्रहरी नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी  खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।