वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने प्रलोभनमा तीन सयभन्दा धेरैबाट १५ करोड रुपैयाँ ठगी गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गर्यो

प्रहरीले आकर्षक रोजगारमा कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत देश पठाइदिने प्रलोभनमा तीन सयभन्दा धेरैबाट १५ करोड रुपैयाँ ठगी गर्ने गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका– १८ का २८ वर्षीय राजकुमार भट्ट, कास्की माछापुच्छ्रे गाउँपालिका– ८ का २२ वर्षीय नवीन विक र पोखरा महानगरपालिका– ८ का २३ वर्षीय पवन पन्त छन् । 

काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले फेसबुक, म्यासेन्जर, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा फेक आइडी प्रयोग गरी रोजगारको जाली विज्ञापन सार्वजनिक गर्थे । सम्पर्कमा आएका युवालाई बैंक खातामा रकम जम्मा गर्न लगाउँथे । उनीहरूले तीन सयभन्दा बढीबाट १५ करोड रुपैयाँभन्दा धेरै रकम ठगी गरेको अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।