शुक्रबार राति भालुवाङमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

दाङको भालुवाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । शव लमहीस्थित लमही अस्पतालमा राखिएको छ । शुक्रबार राति नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे १ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट खसेको थियो ।

मृतक १२ मध्ये चारजनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए । चारजनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएकामध्ये आठजनाको बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।