शेयर बजार १२ अङ्कले घट्याे, साढे २ वर्षपछि झन्डै १० अर्ब रुपैयाँकाे काराेबार

करिब २ वर्षदेखि पटक–पटक २२ सय पुगेर फर्कने गरेको नेप्से यस पटक पनि त्यही विन्दुमा प्रतिरोध पाएर घटेको छ। तर, यो प्रतिरोध कतिको दरिलो हो भन्ने कुरा आगामी केही दिनको कारोबार पछि मात्रै यकिन गर्न सकिने अवस्था छ। नेप्से यो दुई वर्षयता १८ सयको विन्दुसम्म पुगेर फर्किने र २२ सय विन्दु छोएर घट्ने गर्दै आएको छ। यही कारण पनि यो दरिलो मनोवैज्ञानिक प्रतिरोध बन्ने गरेको छ। यसरी बजार निश्चित विन्दुमा रहेर घटबढ हुनुलाई 'साइडवेज मुभमेन्ट' भनिन्छ। यस्तो प्रवृत्तिमा रहेको बजारमा कति खेर पस्ने र कतिखेर निस्कने भनेर सजिलै आँकलन गर्न सकिन्छ। 

यस्तो प्रवृत्तिमा लगानीकर्ताले थोरै मात्र प्रतिफल पाइरहेका हुन्छन्। अबको दिनमा यदी बजार २२ सयको विन्दु कटेर थप माथि गएमा भने बजार केही समय वृद्धिमै रहनेछ। २२ को विन्दु नेप्सेको लागि 'ब्रेक आउट' विन्दु हो। बुधबार नेप्सेमा करेक्सन आएको छ। गत दुई कारोबार दिन बजार ८६ अंकले बढेकाले नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा आज नेप्सेमा करेक्सन आएको हो।

यसदिन नेप्से ०.५५ प्रतिशतले घटेर २१६३.०६ विन्दुमा बन्द भएको छ। बुधबारको बजारमा २ वर्ष ५ महिना यताकै उच्च कारोबार भएको छ। यसदिन बजारमा ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८६८ रूपैयाँको सेयर कारोबार भएको छ। यसअघि २०७८ को भदौ २१ गते ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार बढीको कारोबार भएको थियो। बुधबारको कारोबार भएको रकम त्यसयताकै उच्च हो। यस आधारमा बुधबारकाे कारोबार रकम २ वर्ष ५ महिनायताकै धेरैको रेकर्ड हाे। मंगलबारको बजारमा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४०६ रूपैयाँको सेयर कारोबार भएको थियो।

मंगलबारको तुलनामा भने आज कारोबार रकम १ अर्ब ७४ करोड रूपैयाँ बढी हो। यस दिन ३०० वटा धितोपत्रको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता सेयर किनबेच भएको हो। बुधबार ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८० वटाको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।  

यसदिन तीन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। ग्लोबल आइएमई लघुवित्त र नेपाल वयर हाउजिङको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ भने हिमालयन रिइन्स्योरेन्सको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ।  यस्तै, इस्टर्न हाइड्रोपावर र भूगोल इनर्जीको सेयरमूल्य सर्वाधिक १० प्रतिशतको दरले घटेको छ। 

इस्टर्न हाइड्रोपावरको प्रतिकित्ता मूल्य ४२९ रूपैयाँ ३० पैसा र भूगोल इनर्जीको प्रतिकित्ता मूल्य ३३९ रूपैयाँ ३० पैसामा झरेको छ। बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ६०२ रूपैयाँ २० पैसामा ६५ करोड ८४ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ९.९९ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३०० रूपैयाँ १० पैसामा ३३ करोड १६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, विकास बैंक, लघुवित्त र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ। यसदिन अन्य समूहको परिसूचक सर्वाधिक १.९४ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक ३.५१ प्रतिशतले घटेको छ।