काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कार्कीले २१ वर्षको अवधिमा तीन करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ गैरकानुनी सम्पति आर्जन गरेको ठहर गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

उनले ०५८ साउन १६ देखि ०७९ चैत ३० गतेसम्म काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, वाग्मती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय र अतिरिक्त जिम्मेवारीका रूपमा कागेश्वरी मनोहरा, गोकर्णेश्वर र शंखरापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौं नयाँ सहरी विकास आयोजनामा काम गरेका थिए ।

कार्कीले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराई गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । कार्की सार्वजनिक सेवामा प्रवेश गरेको मिति ०५८ साउन १६ देखि ०७९ चैत ३० गतेसम्मको अवधिलाई अख्तियारले जाँच अवधि कायम गरी अनुसन्धान गरेको थियो ।

उक्त अवधिमा उनको आयव्ययको विश्लेषण गर्दा तीन करोड ७७ लाख १३ हजार ६४६ रुपैयाँ ६० पैसा वैध आय देखिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही अवधिमा उनले ६ करोड ९८ लाख ४६ हजार ६०३ रुपैयाँ ३५ पैसा खर्च तथा लगानी गरेको पाइएको अख्तियारले जनाएको छ ।