इजरायलमा मृत्यु भएका चार नेपालीको शव आज ल्याउँदै

इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याउँदै छ । तेलअबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाउन लागेको जानकारी दिएको छ । नेपाल ल्याउन लागेका चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको दूतावासले जनाएको छ ।

दूतावासले जारी गरेको विज्ञप्तिअनुसार शनिबार दिउँसो १ बजेर २५ मिनेटमा फ्लाई दुबईको उडानमार्फत शव नेपाल पठाइन लागेको हो । इजरायलबाट उडान नम्बर एफजेड १२१० मार्फत दुवईसम्म र त्यहाँबाट फ्लाई दुवईकै उडान नम्बर एफजेड ८३५१ मार्फत काठमाडौंसम्म शव पठाउन लागेको दूतावासले जनाएको छ ।