पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा गण्डकीका पूर्व सहकारी रजिस्ट्रार उदयबहादुर पराजुलीलाई उच्च अदालत पोखराले २० लाख धरौटीमा छाड्न आदेश

पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा गण्डकीका पूर्व सहकारी रजिस्ट्रार उदयबहादुर पराजुलीलाई पुर्पक्षका थुनामा राख्ने कास्की जिल्ला अदालतको फैसला उच्च अदालत पोखराले उल्ट्याउँदै २० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यकक्षमै रहेका बेला गत पुस ११ गते पक्राउ परेका पराजुलीलाई पुस १७ गते जिल्ला अदालत कास्कीले पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो ।

सहकारीको शाखा विस्तारका क्रममा कात्तिक ४ गते पक्राउ परेका सहकारीका अध्यक्ष रमन पौडेल र प्रबन्धक किरण अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई १ करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए ।

बयानपछि पक्राउ परेका पराजुली पुर्पक्षका लागि थुनामा पठाएको जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगेका थिए । उच्चका न्यायाधीश राजनप्रसाद भट्टराई र धनसिंह महराको संयुक्त इजलाशले पराजुलीलाई २० लाख र सहकारीका लेखा समिति सदस्य जनकराज पौडेललाई ७ लाख रुपैयाँ धरौटीमा छाड्न बिहीबार आदेश गरेको हो ।