मनसुन सक्रिय नभएसम्मका लागि मेलम्चीको पानी काठमाडौं पठाइने

मनसुन सक्रिय नभएसम्मका लागि मेलम्चीको पानी काठमाडौं पठाइने भएको छ। मेलम्ची खानेपानी विकास समितिले पानी धमिलो नहुन्जेल काठमाडौंमा पानी पठाउने काम नरोकिने बताएको हो। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानले मनसुन सुरु भएसँगै मेलम्ची खोलामा पानीको बहाव बढ्ने र खानेपानी पथान्तरण गर्ने संरचनामा जोखिम हुने सम्भावनालाई मध्यनजर गरेर काठमाडौं पानी पठाइने बताएका हुन्।

उनले मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडवर्क्समा पानी थिग्र्याउने संरचना नभएको र नदीमा धमिलो पानी आउने बित्तिकै हेडवर्क्स बन्द गनुपर्ने अवस्था रहेको बताए। ‘विज्ञहरुको जेठ २८ गतेबाट बन्द गर्नुपर्छ भन्ने सुझाव प्राप्त भइरहेको थियो। तर मेलम्ची खानेपानी विकास समिति मनसुन सक्रिय नभएसम्म पानी सञ्चालन गर्ने तयारीका साथ सकेका छौं। जेठ ३१ गतेबाट मनसुन सक्रिय भएपछि थप निगरानी बढायौं । मेलम्ची नदिमा जबसम्म पानी धमिलो आउँदैन र माथि पहिरो जाँदैन तबसम्म पानी सञ्चालन गरी राख्ने योजना बनायौं,’ उनले भने।

धमिलो नहुने बेलासम्म पानी आइरहने व्यवस्था मिलाउनका लागि सावधानीका उपाय अपनाएर बसेको पनि लामिछानेले जानकारी दिए। तर पानी जुनसुकै बेला बन्द हुनसक्ने पनि उनले जानकारी दिए। आयोजनाले सोही अनुसारको स्वीकृति मन्त्रालयबाट लिइएको बताए। उनले पानी आज बन्द गर्ने भनिएपनि टनेलबाट सुन्दरीजलमा पानी पथान्तरण गरिरहेको बताए।

‘मेलम्चीको पानी बन्द गर्ने मिति तोकिएको छैन । हामी जति सकिन्छ त्यति बढी समय काठमाडौंमा पानी पथान्तरण गर्छौं भनेर लागि रहेका छौं । त्यसको लागि तयारी अवस्थामा मेनपावरहरु राखिसकेका छौं,’ उनले भने। मेलम्चीको मुख्य गेट बन्द गर्न १५ मिनेट समय लाग्छ। अल्टरनेट टनेललाई बन्द गर्न २ घण्टा लाग्छ । खोला ठूलो बढेको अवस्थामा बन्द गर्न जान नसक्ने अवस्था छ। त्यसले गर्दा पानी बढ्न थालेसँगै पानी बन्द गर्नुपर्छ।

मनसुन सक्रिय भएर मेलम्ची नदीमा बाढी आए पानी बन्द हुने र मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले मेलम्चीको पानी उपभोग गर्न पाउने कार्यकारी निर्देशक लामिछाने बताए। उनले मनसुनजन्य बिपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समा हुनसक्ने सम्भावित क्षति न्यूनिकरणका लागि आयाजनाले हेडवर्क्स बन्द गर्ने बताए। आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ।

उनले मलम्चीको पानी बन्द भएपनि उपत्यकावासीलाई पानीको अभाव भने हुन नदिने बताए।  उहाँले मेलम्ची खानेपानी आयोजना बन्द रहने अवधिसम्म वागमती सुधार आयोजनाअन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने तयारी रहेको बताए।

उनले मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानीको आपूर्ति व्यवस्थापनलाई सहज गर्न धाप ड्यामबाट दैनिक चार करोड लिटर पानी वितरण गर्ने तयारी भएको बताए।