नलिनचोकको हेलिपोर्ट सञ्चालनमा, १२ हेलिकोप्टरले उडान थाल्ने

निर्माण सम्पन्न भएको करिब ६ महिनापछि भक्तपुरको नलिनचोकस्थित हेलिपोर्ट पूर्णरुपमा सञ्चालनमा आउने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले तत्कालका लागि १२ वटा हेलिकोप्टरले उडान भर्ने गरी हेलिपोर्ट सञ्चालनमा आएको बताए। प्राधिकरणले करिब ३० करोड लगानीमा ६ महिनाअघि ३३ रोपनी क्षेत्रफलमा निर्माण सम्पन्न गरी परीक्षण उडान गरेको थियो। अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो हुँदै गएको हुँदा सुरक्षित र द्रूत सेवाका लागि भन्दै प्राधिकरणले आफ्नै जग्गामा हेलिपोर्ट निर्माण गरेको हो। 

अहिले काठमाडौंको विमानस्थलमा आन्तरिक नियमित, अन्तर्राष्ट्रिय  र कार्गो उडान हुँदै आएको छ। हेलिकप्टरका लागि पनि यात्रु दैनिक विमानस्थलकै सुरक्षा घेरा पार गरिरहेका हुन्छन्। हेलिकप्टरका लागि व्यवस्थित र सुरक्षित पूर्वाधार निर्माण भएको प्राधिकरणले जनाएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने हवाई ट्राफिक जामलाई न्यूनीकरण गर्न हेलिपोर्टले सहयोग गर्ने महानिर्देशक अधिकारीको भनाइ छ। पछिल्लो समय विमानस्थलको स्तरोन्नतीको कामसमेत भइरहेको बेला पहिलो चरणमा १२ वटा हेलिकोप्टरले उडान गर्ने गरी हेलिपोर्ट तयार भएको हो।

हेलिकोप्टरको रात्रिकालीन पार्किङसमेत हेलिपोर्टमै हुने छ। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हेलिकोप्टरसमेत उडान गर्दा एयर ट्राफिकमा समस्या भएको गुनासो बढिरहेको बेला प्राधिकरणले हेलिकोप्टरका लागि छुट्टै हेलिप्याड बनाएको हो। हेलिपोर्ट निर्माणका लागि १५ करोड र टर्मिनल भवन निर्माणका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको थियो। नव निर्मित हेलिप्याडमा एक पटकमा २६ वटासम्म हेलिकप्टर अटाउन सक्ने क्षमता छ। प्राधिकरणका अनुसार विशेष गरी हिमाल आरोहण, हिमाली दृश्यावलोकन, दुर्गम भेगमा मालसामान ढुवानी र आपत्कालीन उद्धारका लागि हेलिकप्टर सेवाको प्रयोग हुँदै आएको छ। हाल नेपालमा तीन दर्जन हेलिकप्टर उड्ने गरेकामा अधिकांश काठमाडौंभित्रै केन्द्रित छन्। 

प्राधिकरणले सूर्यविनायक नगरपालिकाको नलिञ्चोकको ३३ एकड क्षेत्र क्षेत्रफल जग्गामा हवाई इन्धन भण्डारण, अग्नि नियन्त्रणका लागि दमकल सेवा, हेलिकप्टर सेवा प्रदायक कम्पनीको उडान व्यवस्थापन कार्यालय, ह्याङ्गरलगायतका सुविधा निर्माण गर्दै छ। हेलिपोर्ट अन्तर्राष्ट्रिय विमानस्थलबाट ६.२ एरो नटिकल माइल दूरीमा अवस्थित छ। शुक्रबारबाट औपचारिक रूपमा सुरु हुने हेलिपोर्टको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ र प्राधिकरणका महानिर्देशक अधिकारीले बिहान ८ बजे संयुक्त रूपमा गर्ने कार्यक्रम तय भएको जनाएको छ।

प्राधिकरणका अनुसार सञ्चालनमा रहेका हेलिकोप्टर कम्पनीको एक/एक वटा हेलिकोप्टरले अनिवार्य रूपमा नलिनचोकस्थित हेलिपोर्टबाट सेवा सञ्चालन गर्नुपर्ने छ। त्यस बाहेक अन्य हेलिकोप्टर बेसको आधारमा केही काठमाडौं र अन्यले बाहिर जिल्लाबाट सेवा दिनुपर्ने हुन्छ। अहिले हेलिकोप्टर कम्पनीले पनि प्राधिकरणको निर्देशन अनुसार नै सञ्चालनका लागि आवश्यक तयारी पुरा गरेको वायुसेवा सञ्चालक संघका प्रथम उपाध्यक्ष एवं कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतावजंग पाण्डेले जानकारी दिए।