अनुसन्धान विभागको प्रहरी बताएर कपनमा सुन पसल लुट्ने ४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१२ कपनस्थित सोहिल बाह्रबिसे सुनचाँदी पसलमा लुटेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । १३ जेठमा राति ११ बजेतिर ४ जनाले ‘अनुसन्धान विभागबाट आएको सादा पोसाकका प्रहरी हौँ’ भनेर लुटपाट गरेका थिए । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भएका हर्के तामाङ भन्ने लोकबहादुर पाख्रिन, ईनकुमार पाख्रिन, लीलबहादुर तामाङ र भाग्यराम पाख्रिनलाई प्रतिवादी बनाएको छ । भाग्यराम बाहेक अरू तिन जना फरार छन् । 

करिब ५ महिना अघि चिनजान भएका हर्के तामाङले राति फोन गरेर २० हजार तत्काल आवश्यक परेको भन्दै सुन पसल सञ्चालक जयविक्रम विकलाई डेरा बाहिर बोलाएर लुटपाट गरेका हुन् । पीडितको डेरा र पसल खेल्न लगाएर कुटपिट गरी ९ लाख ९१ हजार बराबरको धनमाल लुटेपछि आरोपीहरू फरार भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।