वडा सदस्यलाई जातीय विभेद गर्ने पोखरा महानगरपालिका-२४ का वडाध्यक्षलाई साढे ४ महिना कैद सजाय

वडासदस्य मैया नेपालीलाई जातीय विभेद गर्ने पोखरा महानगरपालिका-२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय दुर्व्यवहार तथा छुवाछुतको कसुरमा जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद सजाय सुनाएको छ ।

वडासदस्य मैया नेपालीले आफूलाई जातीय दुर्व्यवहार र छुवाछुत गरेको भन्दै वडाअध्यक्ष अधिकारीविरुद्ध जाहेरी दिएकी थिइन् । सोही मुद्दामा जिल्ला अदालत कास्कीकी न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बिहीबार अधिकारीलाई ४ महिना कैद र पीडितलाई १० हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ मा जातीय विभेद गर्नेलाई ३ महिना कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । सार्वजनिक पद धारण गरेका व्यक्तिको हकमा अभियोग पुष्टि भए थप ५० प्रतिशत सजाय गर्ने व्यवस्था पनि छ ।

‘सोही व्यवस्थाअनुसार थप सजायसहित साढे ४ महिना कैद, ७५ हजार रुपैयाँ जरिवाना र जाहेरवालालाई १० हजार रुपैयाँ क्षतिपूर्ति भर्न आदेश भएको छ’, जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले भने ।

वडा सदस्य मैया नेपालीका अनुसार दलित समुदायका लागि छुट्याइएको बजेट वडाध्यक्ष अधिकारीले अर्कै क्षेत्रमा खर्च गरेपछि उनले प्रश्न उठाएकी थिइन् । वडाध्यक्ष अधिकारीले आफूमाथि अपशब्द प्रयोग गर्दै र सिंगो दलित समुदायमाथि नै अपमान हुने अभिव्यक्ति दिएको उनको आरोप थियो ।