अब काठमाडौंमा घर बनाउँदा २० प्रतिशत जग्गामा पार्किङ अनिवार्य

काठमाडौं महानगरपालिकाले आगामी १ वैशाखदेखि चार आनाभन्दा बढी जग्गामा घर बनाउँदा २० प्रतिशत क्षेत्रमा अनिवार्य पार्किङ बनाउनुपर्ने नियम बनाएको छ । महानगरले ‘भवन निर्माण मापदण्ड २०८० तथा भवनसंहिता’ लागु गर्दै नक्सा पासमा पार्किङलगायतका नियमहरू बनाएको हो । यो मापदण्ड १ वैशाखदेखि लागु हुनेछ ।

तर, पुरातात्विक महत्वका संरक्षित स्मारक उपक्षेत्रमा भने यो नियम लागु नहुने भवनसंहितामा उल्लेख छ । पार्किङका लागि सडकको क्षेत्राधिकारभित्र नपर्ने गरी सेड ब्याकमा पर्ने जग्गाको क्षेत्रफल समेत प्रयोग गर्न पाइनेछ ।

साथै महानगरले भवनको नक्सालाई दुई चरणमा स्वीकृत गर्ने भएको छ । सुरक्षित भवन निर्माणका लागि प्लिन्थ लेभलसम्मको निर्माण पहिलो चरणमा र यसभन्दा माथिल्लो भागको अर्को चरणमा नक्सा स्वीकृत गर्ने महानगरले निर्णय गरेको हो । सहरी व्यवस्थापन विभागका वरिष्ठ इञ्जिनियर जीवन रेग्मीका अनुसार भवन मापदण्ड र संहितामा भित्री सहरी क्षेत्रमा १ तला र बाहिरी वडामा २ तला बेसमेन्ट बनाउन सकिनेछ ।

‘१७ मिटर (अधिकतम् ५ तला) भन्दा अग्ला वा १० हजार स्क्वायरफिटभन्दा धेरै क्षेत्रफल भएका भवन बनाउँदा अनिवार्य भूप्राविधिक अनुसन्धान (जिओ टेक्निकल इन्भेस्टिगेसन) गर्नुपर्ने व्यवस्था गरिएको छ,’ रेग्मीले भने । ५ हजार वर्गफिटसम्म क्षेत्रफल हुने भवनको नक्सा वडाबाटै र योभन्दा धेरै क्षेत्रफल भएका भवनको नक्सा महानगरबाट स्वीकृति लिनुपर्ने छ । १० हजार वर्गफिटभन्दा धेरै क्षेत्रफल भएका भवन मूल्यांकनबाट स्वीकृत गरिने संहितामा उल्लेख छ ।