ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबीसै घण्टा खुलाउन सुरक्षा योजना बन्यो

सरकारले काठमाण्डौको ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबीसै घण्टा खुलाउने तयारी गरेको छ । यसको लागि काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आज व्यवसायी, सुरक्षाकर्मी लगायतसँग छलफल गर्नुभएको छ ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबीसै घण्टा खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन कार्यालय काठमाण्डौले तयारी थालेको हो । ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या तथा प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्ने बताए । बैठकपछि ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सुरक्षाको ग्यारेन्टी गरेर चौबीसै घण्टा खुल्ला गरेमा व्यवसाय सुधार हुने बताए ।