सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गितेन्द्र राई ‘जीबी’विरुद्ध ‘डिफ्युजन नोटिस’ जारी

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गितेन्द्र राई ‘जीबी’विरुद्ध ‘डिफ्युजन नोटिस’ जारी भएको छ । बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका जीबीविरुद्ध डिफ्युजन नोटिस जारी गरिदिन भन्दै कास्की प्रहरीले प्रहरी प्रधान कार्यालयमार्फत एनसीबीलाई पत्राचार गरेको थियो । 

एनसीबी काठमाडौंले इन्टरपोलको प्रधान कार्यालयलाई पत्र पठाएपछि नोटिस जारी भएको जनाइएको छ । यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्रहरूले राईबारेको सूचना नेपाल प्रहरीलाई दिनेछ । नेपाल ल्याउनैपर्ने अवस्थामा भने रेड नोटिस जारी गराउनुपर्ने हुन्छ । 

राई मलेसियामा रहेको आशंका छ । उनी त्यहाँ आएको पुष्टि भए त्यसपछि डिपोर्ट गरेर ल्याउने प्रक्रिया अघि बढ्ने एक प्रहरी अधिकृतले बताए । ग्यालेक्सी टेलिभिजनका सञ्चालक समेत रहेका ओखलढुंगाको सुनकोसी गाउँपालिका–१ का ४५ राईसहित हाल सूर्यदर्शन सहकारीका १५ जना आरोपी फरार छन् । जसमध्ये राई मुख्य आरोपी हुन् ।

आरोपी १९ जनामध्ये चारजना भने पुर्पक्षका लागि जेल चलान भएका छन् । पुर्पक्षका लागि थुनामा रहेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, शविबहादुर गुरुङ, भविश्वर अर्यालसहित चारजना छन् ।

राईसहितको समूहले सहकारीको एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना गरेको पाइएको छ । सहकारीमा रकम जम्मा गरेर फिर्ता नपाएको भन्दै एक हजार ३५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । सूर्यदर्शन सहकारीका बचतकर्ता भने १८ हजार रहेको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

प्रहरीमा उजुरी पर्न थालेपछि राई फरार थिए । राईविरुद्ध जिल्ला अदालत पोखराले साउन २४ मा पक्राउ पुर्जी जारी गरेको थियो । त्यही बेलादेखि नै उनी फरार छन् ।