मधेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन एमाले र माओवादी तयार, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने

मधेशमा तीन दलबीच जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । बिहीबार बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको नेताहरुले जानकारी दिए ।

सहमतिमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी संसदीय दलका नेता भरतप्रसाद साहको हस्ताक्षर छ । सरकारमा यी तीन दलसँगै एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने सहमतिपत्रमा उल्लेख छ । १०७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेको सभामुखबाहेक २४, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोकतान्त्रिक समाजवादी पार्टीको ८ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

३० वैशाखमा नेकपा एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा छन् । २१ जेठदेखि संसदको अधिवेशन आह्वान गरिएको छ र २३ जेठमा उनले विश्वासको मत लिने तयारी गरेका छन् ।