नेपाल अन्तर्राष्ट्रिय आतंकवादको ट्रान्जिट प्वाइन्ट भएको अमेरिकाको दावी

काठमाडौँ - अमेरिकाले नेपाल अन्तर्राष्ट्रिय आतंकवादी समूहका लागि ट्रान्जिट प्वाइन्ट भएको दाबी गरेको छ । अमेरिकी ब्युरो अफ काउन्टर टेररिज्मले जारी गरेको वार्षिक प्रतिवेदनमा नेपालको सन्दर्भमा यस्तो भनिएको हो ।

अमेरिकी सरकारको विदेश विभाग अन्तर्गत, यस ब्यूरोले प्रत्येक दुई वर्षमा एक रिपोर्ट प्रकाशित गर्दछ। मंगलबार प्रकाशित ३३० पृष्ठको वार्षिक प्रतिवेदन २०२१ को पृष्ठ १७९ र १८० मा नेपालबारे उल्लेख छ ।

प्रतिवेदनले भारतसँगको खुला सिमाना र काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलको अपर्याप्त सुरक्षा प्रोटोकलमाथि गम्भीर प्रश्न उठाएको छ । प्रतिवेदनमा यी दुई आधारमा नेपाललाई अन्तर्राष्ट्रिय आतङ्ककारी समूहहरूका लागि नेपाल प्रवेश गर्ने सजिलो बिन्दुका रूपमा मूल्याङ्कन गरिएको छ ।

नेपालको विमानस्थलको सुरक्षा व्यवस्था निकै कमजोर र अपर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ । अमेरिकी प्रतिवेदनमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको स्क्रिनिङ राम्ररी नगरिएको र नेपाल आउने यात्रुको विवरण डाटाबेसमा नराखिएको पनि उल्लेख छ ।

प्रतिवेदनले यात्रा कागजातको वैधता जाँच गर्न पर्याप्त र आधुनिक उपकरणको अभावप्रति चिन्ता व्यक्त गरेको छ। प्रतिवेदनमा हालसम्म काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राभल डकुमेन्ट सेक्युरिटी मेसिन र अल्ट्राभायोलेट बत्तीको व्यवस्था हुन नसकेको जनाएको छ ।