पेट्रोलको मूल्य एकैपटक लिटरमा पाँच रूपैयाँले बढ्यो, अब पेट्रोलको प्रतिलिटर रु १६५ तिर्नुपर्ने

नेपाल आयल निगमले पेट्रोल लिटरमा एकैपटक पाँच रूपैयाँले बढाएको छ। नयाँ मूल्यसूचीअनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटिर १६२ रुपैयाँ ५० पैसा कायम गरिएको छ। निगमले यी क्षेत्रलाई पहिलो वर्गमा राख्ने गरेको छ। यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

दोस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम गरिएको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य १४८ रुपैयाँ कायम गरिएको छ।काठमाडौं, पोखरा र दियालमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ र डिजेल, मट्टितेलको मूल्य १४९ रुपैयाँ कायम गरिएको छ। निगमले यी तीन स्थानलाई तेस्रो वर्गमा राखेको छ।

हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ५१ ले बढाइएको छ। निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट असार १६ गतदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ६४ पैसा, डिजेलमा ९ रुपैयाँ १३ पैसा र हवाई इन्धनमा ६ रुपैयाँ ८८ पैसा बढेर आएको छ।

यो मूल्यदर सोमबार मध्यरातिबाट लागू भएको छ।

513933872_2336464126770053_1639612481174084579_n-(1)-1751330563.jpg