कोरोनाको खोपमा प्रयोग भएको प्रविधिमा अनुसन्धान गर्ने दुई जनाले पाए चिकित्सा विज्ञानमा नोबेल

यो वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार कोभिड-१९ विरूद्धको खोपमा प्रयोग भएको प्रविधिमा अनुसन्धान गरेका दुई जना वैज्ञानिकले पाएका छन्।

नोबेल पुरस्कार समितिले वैज्ञानिकहरू क्याटलिन कारिको र ड्रयु वेसम्यानलाई मेसेन्जर आरएनए भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो।

सन् २०१९ को अन्त्यबाट संसारभरि कोभिड महामारी सुरू भएको थियो। कुनै खोप र उपचार नभएको कोभिड-१९ ले संसारका झन्डै ७० लाख मानिसको मृत्यु भएको छ। केही समयपछि वैज्ञानिकहरूले कोभिडविरूद्ध विभिन्न किसिमका खोप बनाएका थिए। त्यसमध्ये फाइजर, मोडेर्नाजस्ता खोपमा मेसेन्जर आरएनए प्रविधि प्रयोग गरिएको थियो।