नेपाल प्रिमियर लिग (एनपीएल) मा बागमती प्रदेशबाट मात्र दुई टिम सहभागी छन् । राजधानीबाट काठमान्डु गुर्खाज र काठमाडौंनजिक तराई बाट चितवन राइनोज आजको पहिलो खेलमा भिड्दै छन् । गुर्खाज र राइनोजबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विहान सवा ९ बजेदेखि सुरु हुनेछ । कुनै पनि फ्रेन्चाइज लिगमा काठमाडौंको टिमले घरेलु समर्थक धेरै पाउँछन् र मैदानमा पनि उत्कृष्ट प्रदर्शन गर्नुपर्ने चुनौती हुन्छ ।
काठमाडौं र चितवन टोलीबीच केही समानता पनि छ । दुवै टोलीको मार्की तथा कप्तानमा राष्ट्रिय टोलीका आक्रमक ब्याटिङ गर्ने खेलाडी छन् । मिडियम पेसर तथा लोअर अर्डरमा ब्याटिङ गर्ने करण केसीले काठमान्डुको कप्तानी गर्नेछन् भने युवा अलराउण्डर कुशल मल्लले चितवनको कप्तान सम्हाल्नेछन् ।
करणले यसअघि फ्रेन्चाइज प्रतियोगिताहरुको नेतृत्व गरिसकेको भएपनि कुशल मल्ल एनपीएलमार्फत नै कप्तानी डेब्यु गर्दैछन् । मल्ल यस एनपीएलका सबैभन्दा कान्छा मार्की खेलाडी र कप्तान् । काठमान्डुमा करणसहित राष्ट्रिय टिमका भिम शार्की छन् भने राष्ट्रिय टिमबाट खेलेका शाहब आलम र रासिद खान पनि छन् । यसबाहेक घरेलु क्रिकेट खेलिरहेका शंकर राना सुमित महर्जन कृष्ण कार्की यू१९ विश्वकप खेलेका दिपेश कँडेल पनि छन् । विदेशी खेलाडीको आगमनपछि काठमान्डु टिम सन्तुलित देखिएको छ ।
चितवनको कप्तान युवा भएपनि टिममा भने युवा र भेट्रान खेलाडीहरुको मिश्रण छ । चितवनले राष्ट्रिय टिमका अनुभवी खेलाडी शरद भेषावकरलाई समेत अक्सनबाट अनुबन्ध गरेको छ । यस्तै हाल राष्ट्रिय टिममा रहेका बाँयाहाते मिडियम पेसर रिजन ढकाल छन् । यस्तै विदेशी खेलाडीमा पाकिस्तानका भेट्रान बलर सोहेल तनविर र इंग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारालाई भित्र्याएको छ । यस्तै टीयू मैदानमा कुशल मल्लकै कीर्तिमान तोडेका नामिबियाका जान निकोलस लफ्टी इटन पनि चितवन टिममा छन् ।
चितवनले इंग्ल्याण्डकै युवा ब्याटर लुक बेन्केन्सटाइनलाई पनि अनुबन्ध गरेको छ भने यस टिममा अफगानिस्तानका स्टार मोहम्मद नावीका छोरा हसन इसिखिल पनि छन् । अर्कोतर्फ काठमान्डु टिममा नेपालमा आएर खेलिसकेका दुई खेलाडी सहित इंग्ल्याण्डकै तीन खेलाडी पनि छ । काठमाडौंले अनुबन्ध गरेको मध्ये नामिबियाका कप्तान जेरार्ड एरासमस र नेदरल्याण्ड्सका युवा ओपनर माइकल लेभिटले नेपालमा खेलिसकेका छन् । यसबाहेक बिग बास लिगमा पर्थ स्कोरचर्सबाट खेलिसकेका स्टेफेन इस्किनाजीसहित अलराउण्डरद्वय डान डौथवेट र नाथन सोटर छन् ।
अक्सनमा कमजोर देखिएको भनेपनि काठमान्ठुले अनुभवी र टी२० मा काम लाग्ने विदेशी खेलाडी भित्र्याएर टिम सन्तुलित बनाएको छ । चितवनलाई भने प्रतियोगिता खेल्नुअघि नै धक्का लाग्यो । अक्सनमाबाट अनुबन्ध गरेका पेस बलर नेपालका कमल सिंह ऐरी र दक्षिण अफ्रिकी स्टार मर्चेन्ट डे लाङ घाइते हुँदा सुरुमै बाहिरिए ।
डे लाङको स्थानमा पाकिस्तानबाट टी२० विश्वकप जितिसकेका भेट्रान सोहेल तनविर आएका छन् । विदेशी खेलाडीको आगमन अनी युवा कुशल मल्ल र भेट्रान शरदको साथमा चितवनको मिडल अर्डर बलियो देखिएपनि ओपनिङ र बलिङमा भने केही कमजोर देखिएको छ । यस बाहेक अन्य नाम चलेका खेलाडी चितवन टिममा छैनन् ।
नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक उमेश पटवालको प्रशिक्षणमा चितवन खेल्दैछ भने नेपाली राष्ट्रिय टिमका पहिलो पुस्ताका खेलाडी तथा राष्ट्रिय टिमकै पूर्व सहायक प्रशिक्षक बसन्त शाही ठकुरीले काठमान्डु टिमको प्रशिक्षण सम्हालेका छन् ।
विदेशी खेलाडीको साथमा बलियो देखिएको काठमान्डु र युवा तथा भेट्रानको मिश्रण रहेको बागमती ड्रबी खेल रोमाञ्चक हुन सक्छ ।
खेल : काठमान्डु गुर्खाज भर्सेस चितवन राइनोज
मिति र समय : मंसिर १७, बिहान सवा ९ बजे
स्थान : टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
सम्भावित प्लेइङ ११ :
काठमान्डु गुर्खाज : स्टेफेन इस्किनाजी, माइकल लेभिट, जेरार्ड एरसमस, सुमित महर्जन, भिम शार्की, डान डौथवेट, कृष्ण कार्की, करण केसी, रासिद खान, दिपेश कँडेल, शाहब आलम
चितवन राइनोज : सन्तोष कार्की, हसन इसिखिल, रवि बोपारा, कुशल मल्ल, जान निकोलस लफ्टी इटन, शरद भेषावकर, दिपक बोहरा, अमर सिंह राउटेला,रिजन ढकाल, सोहेल तनविर