आवासीय चिकित्सक र सरकारबीच सहमति भए सँगै आन्दोलनका कार्यक्रम फिर्ता

आवासीय चिकित्सक र सरकारबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकबीच शनिवार भएको छलफलपछि मुख्य तीन विषयमा सहमति भएको हो । सहमतिसँगै आवासीय चिकित्सकको आन्दोलन फिर्ता भएको छ ।

स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरूका लागि यथाशीघ्र शुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरूमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्न सक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन वटा सम्झौता भएसँगै आवासीय चिकित्सकहरू आन्दोलन रोक्न सहमत भएका हुन् ।

स्वास्थ्य मन्त्री पौडेलले आवासीय चिकित्सकहरूका माग पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको र त्यसको कार्यान्वयन गर्ने सहमति भएको जानकारी दिनुभयो । आवासीय चिकित्सकहरूले निर्वाह भत्ता आठौँ तह सरह हुनुपर्ने, सुत्केरी तथा बिरामी बिदालगायतको माग राख्दै आएका थिए । निजी मेडिकल कलेजबाट पनि आठौँ तह सरह भत्ता दिने प्रतिबद्धता आएको र विभिन्न कलेजमा आवासीय चिकित्सकहरू काम गर्न फर्किसकेको सङ्घले जनाएको छ ।