काठमाण्डौ महानगरले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा कम्पनीलाई जरिवाना तिरायो

काठमाण्डौ महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा 'ब्रान्ड'का उत्पादक कम्पनीलाई आठ लाख रुपैयाँ जरिवाना गराएको छ । महानगरले १३ वटा ब्रान्डका खाने तेलको नमूना परीक्षण गर्दा चारवटा ब्रान्डमा नेपाल सरकारले तोकेको 'पारोक्साइड भ्यालु' धेरै भएको पाएपछि जरिवाना गरेको हो ।

मापदण्डभन्दा धेरै 'पारोक्साइड भ्याल' र 'एसिड भ्यालु' भई सरकारले तोकेको गुणस्तर नभएकामा श्रीराम रिफाइन्ड आयल प्रोडक्ट, अमृत रिफाइन सोयाबिन आयल, क्वालिटी रिफाइन सोयाबिन आयल र फेमिली तोरीको तेल रहेका कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि यी ब्रान्डलाई कारबाही गरिएको हो । मिसावट भेटिएका तेल तीन दिनभित्र फिर्ता ल्याएर तेल नष्ट गरिएको प्रमाणसहित उपस्थित हुन सम्बन्धित निकायलाई महानगरले पत्राचार पनि गरेको छ ।