हैजा तथा झाडापखाला लाग्न बाट बच्ने र बचाउने उपाय

काठमाडौ - अहिले मनसुनको समय छ । दिनहुँ जसो पानी परिरहेको छ । कतै कतै भारी बर्षाका कारण बाढी पहिरोेले धनजनको क्षति पुर्‍याएको खबर आउन थालेका छन् । यस्तो बेला पानीको स्रोत दूषित हुन जान्छ । प्रदुषित पानीको सेवनले झाडापखाला तथा हैजाको प्रकोप फैलिन सक्छ । गर्मी याममा रोगका किटाणुहरु बढी सक्रिय हुने भएकाले पनि हिउँदमा भन्दा बर्षामा बढी झाडापखालाजन्य रोग फैलिने सम्भावना बढी हुन्छ ।

हैजा तथा झाडापखाला सरुवा रोग भएकाले धेरै मानिसहरुमा फैलिन गई महामारीको रुप पनि लिन सक्छ । वितेका बर्षहरुमा पनि काठमाडौ उपत्यका लगायत धेरै ठाउँमा झाडापखाला तथा हैजाका बिरामी देखिएको थियो । रोग लागेर उपचार गराउनुभन्दा रोगै लाग्न नदिनु उत्तम हुन्छ । झाडापखाला तथा हैजाबाट बच्न निम्न उपाय अपनाउन चिकित्सकहरुको सुझाव छ ।

१. खानेपानीको मुहान सफा राख्ने : बर्षातको बेला खानेपानीको मुहानमा फोहोर बस्तुहरु जुत्ता, चप्पल, कपडा, मरेका पशुपंक्षी, काठपात, मानिस लगायत पशुचौपायाको दिसापिसाब मिसिन सक्छ । त्यसैले पानीको मुहान बेलाबेला सफा राख्नुपर्छ र यस्ता वस्तुको प्रवेश नहुने तरिकाले भल काट्ने वा गाइवस्तु तथा केटाकेटी भित्र छिर्न नसक्ने तरिकाले तारबार गर्नुपर्छ ।

२. खानेपानी शुद्धिकरण गरेर मात्र पिउने : धारामा आएको पानी आँखाले हेर्दा सफा देखिएपनि त्यसमा विभिन्न किटाणुहरु मिसिएको हुन सक्छ । डाक्टरहरु खानेपानीको शुद्धिकरण गरेर मात्र पिउन सल्लाह दिन्छन् । यसका लागि आवश्यक मात्रामा क्लोरिन, ब्लिचिङ पाउडर वा आक्वा ट्याब प्रयोग गर्न सकिन्छ । सबैभन्दा उत्तम घरेलु उपाय पानी उमालेर मात्र पिउनुपर्ने डाक्टरको सुझाव छ ।

३. साबुन पानीले मिचिमिची हात धुने : हात चलायमान अंग भएकाले घरी घरी फोहोरवस्तुको सम्पर्कमा पुग्न सक्छ । त्यसैले खाना खानु अघि, दिसा गरिसकेपछि, फोहोरमैला छोएपछि, र बच्चाको दिसा धोएपछि साबुन पानीले हात मिचीमिची धुनुपर्छ ।

४. सफा राख्ने : घर वरिपरिको वातावरण सधैं सफा राख्नुपर्छ । आँगन, चोक, चर्पी सधैं सफा राखेमा झाडापखाला फैलिन पाउँदैन ।

५. चर्पीमा मात्र दिसापिसाब गर्ने : जथाभावी दिसापिसाब गर्नुहुँदैन । चर्पीमा मात्र दिसापिसाब गर्ने, बच्चाको दिसापिसाब पनि चर्पीमा मात्र विर्सजन गर्ने बानीले झाडापखालाको संक्रमणबाट बच्न सकिन्छ । चर्पी नभएको ठाउँमा खाल्डो खनेर माटोले पुर्ने गरेमा पनि दिसापिसाबमा भएको किटाणु फैलिन पाउँदैन ।

६. सफा र ताजा खानेकुरा मात्र खाने : खानेकुरा पकाउँदा भाँडाकुँडा राम्रो सँग पखालेर मात्र पकाउने, सधै ताजा खानेकुरा मात्र खाने गरेमा झाडापखाला लाग्न पाउँदैन ।

७. झिँगा भन्केको खानेकुरा नखाने : बाहिर खुला ठाउँमा बेच्न राखिएका, झिँगा भन्केका खानेकुरा खानु हुँदैन । त्यस्ता खानेकुरा बासी, सडेगलेको हुन सक्छ । यस्तो खानेकुरा खाँदा झाडापखाला लाग्ने सम्भावना धेरै हुन्छ ।

९. बच्चालाई आमाको दुध मात्र खुवाउने : बच्चा जन्मेको १ महिना देखि ६ महिनासम्म आमाको दुध मात्र खुवाऔँ । ६ महिना पुगेपछि थप पोषिला ताजा खानाहरु खुवाउने र २ वर्ष नहुन्जेलसम्म आमाको दुध खुवाई रहने गरौं ।

१०. काँचै खान मिल्ने खानेकुरा पखालेर मात्र खाने : गाजर, मूला, काँक्रो, स्याउ जस्ता नपकाई खान मिल्ने खानेकुरा राम्ररी सफा पानीले पखालेर मात्र पिउने गरौँ ।

११. घरसँगै जोडेर गाईवस्तु नपाल्ने : घरसँगै जोडेर गाईवस्तुको गोठ बनाउँदा पनि दुर्गन्ध फैलिने, गाईवस्तुको मलमूत्रमा भएका रोगका किटाणुहरु प्रसार भई झाडापखाला लगायत अन्य रोगहरु फैलिने सम्भावना धेरै हुन्छ ।

१२. कुकुरको दिसा तथा कुखुराको सुलीलाई नियन्त्रण गर्ने : मानिसले चर्पीमा मात्र दिसापिसाब गरे झैं कुकुर तथा कुखुरालाई पनि निश्चित स्थानमा मात्र दिसा गर्न लगाई विसर्जन गर्नुपर्छ । मानिसको दिसामा जस्तै कुकुरको दिसा र कुखुराको सुलीमा पनि हानिकारण ब्याक्टेरियाहरु हुने भएकाले मानिसको संसर्गबाट टाढै राख्नुपर्छ ।

१३. पानी राख्ने भाँडालाई नियमित सफा राख्ने : घरमा पानी राख्ने भाँडा सफा हुनुपर्दछ । भाँडा सफा भएपनि बाहिरको धुलो, किटाणु लगायत वस्तु पर्न सक्ने भएकाले पानीलाई सधैँ छोपेर मात्र राख्ने गरौं ।

१४. मरेका पशुचौपायाको मासु नखाने : बर्षातको भेल बाढीले बगाएर ल्याएका पशुचौपाया तथा माछा खानुहुँदैन । यसले मानिसको स्वास्थ्यमा गम्भीर असर गर्छ ।

१५. झाडापखाला लागि हालेमा तुरुन्त स्वास्थ्य चौकीमा लैजाने : झाडापखाला लागेको मानिसबाट अर्को व्यक्तिमा पनि सर्न सक्ने भएकाले तुरुन्त स्वास्थ्य संस्थामा लैजानुपर्छ ।