मधेशमा पानीको हाहाकार, सुख्खा क्षेत्र घोषणा गर्न माग गर्दै  जनमत पार्टीको नारा जुलुस !

काठमाण्डौँ - मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गर्दै जनमत पार्टीले काठमाण्डौको माईतीघर मण्डलामा आन्दोलन गरेको छ । मधेशमा पछिल्लो समय देखिएको सुख्खापन, सिंचाईको असुबिधा तथा खानेपानीका कलहरुमा पनि पानी आउन छाडेकाले मधेश प्रदेशलाई तत्काल सुख्खा क्षेत्र घोषणा गर्न सरकार समक्ष माग गरिएको छ । मौसममा आएको अस्वभाविक परिवर्तनले गर्दा दैनिक गुजारामा लाग्ने पानी पाउन समेत मुश्किल परेको, खेत बारीमा पानी नहुँदा सिंचाई क्षेत्र सुख्खा भएर उब्जनी नहुने देखिएकाले यसमा सरकारले तत्काल बिचार गर्नुपर्ने जनमत पार्टीका सभापति डा सिके राउतले बताए ।  

वर्षा नहुदाँ किसानहरूले धान रोपाइँ गर्न नसकेको, खेतीपातीमा आश्रित किसानहरू मर्कामा परेको भन्दै प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत तथा क्षतिपूर्ति दिन जनमत पार्टीले सरकारसँग माग गरेको छ ।  

मधेश प्रदेशलाई तत्काल सुख्खा क्षेत्र घोषणा गरी पीडित किसानहरूलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, मधेश प्रदेश सरकारले प्रदेशभरिका किसानहरुका लागि उन्नत विउविजन, सिंचाई तथा मलखाद्य सरल र सहज उपब्धताको सुनिश्चित गर्नुपर्ने, कृषि विद्युतीकरणसंग आवद्ध भएका किसानहरूका लागि २४ सै घण्टा विद्युत आपूर्तिको व्यवस्थ हुनुपर्ने  लगायतका माग राखेर आज आन्दोलन गरिएको जनमत पार्टीले नेपाल स्टाटसलाई जानकारी दिएको छ । 

यसअघि पनि मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरि तत्काल चाल्नुपर्ने कदमहरु अगाडी बढाउन नेकपा एमाले, नेकपा माओवादी,नेपाली काँग्रेश तथा अन्य राजनैतिक पार्टीले आवाज उठाईरहेका छन् ।