अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता आजबाट खुला, आज बेलुका ९ः४५ बजेबाट डीभीको लागि आवेदन दिन सकिने

सन् २०२५ को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता आजबाट खुला भएको छ ।  काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेबाट डीभीको लागि आवेदन दिन सकिनेछ । 

डीभीको लागि आवेदन आगामी कात्तिक २१ गते राति १०ः४५ बजेसम्म दिन पाइने दूतावासद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ । डीभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने दूतावासले स्पष्ट पारेको छ । दूतावासले भनेको छ, “अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार रहनुहुनेछ ।” 

डीभीको लागि फारम अनलाइन भर्नुपर्नेछ । आवेदन दर्ता गर्दा आवेदकको पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य रहेको दूतावासले जनाएको छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य हुने विज्ञप्तिमा उल्लेख छ ।  एक जनाले व्यक्तिले डीभीको लागि एउटा मात्र आवेदन दिन पाउनेछन् ।  एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन् ।

अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिने दूतावासले जनाएको छ । फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु नहुने समेत दूतावासले बताएको छ । “अघिल्ला वर्षहरूमा अमेरिकी विदेश मन्त्रालयले आवेदकहरूलाई डीभी आवेदन भर्दाको समयमा आफ्नो वैध र म्याद बाँकी रहेको राहदानीमा भएको जानकारी उपलब्ध गराउन निर्देशित गर्दथ्यो । हाल आएर आफ्नो डीभी आवेदन भर्दाको समयमा आवेदकहरूसँग म्याद बाँकी भएको राहदानी हुनु अनिवार्य छैन,” दूतावासले भनेको छ ।
विज्ञप्ति हेर्न यहाँ थिच्नुहोस