नगरपालिकाको फर्जी पत्र बनाएर रकम निकालेको आरोपमा प्रधानाध्यापक पक्राउ

रौतहटको चन्द्रपुरस्थित आधुनिक प्राथमिक विद्यालयकी प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । प्रअ किशोरी चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दिपक रायले बताए । चन्द्रपुर नगरपालिकाको फर्जी पत्र बनाएर विद्यालयको खातामा रहेको तर, नगरपालिकाले रोक्का राखेको रकम उनले निकालेको आरोप छ । 

विद्यालयको ४ कोठे भवन निर्माण गर्न विशेष अनुदानबाट प्राप्त दोस्रो किस्ता रकम निकाल्न उनले नगरपालिकाको फर्जी पत्र बनाएर आफैँले हस्ताक्षर गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । ५३ लाख ९८ हजारमा ब्रम्हबाबा कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएपछि नगरपालिकाले पहिलो चरणमा २० लाख भुक्तानी दिन विद्यालयलाई पत्राचार गरेको थियो । तर, प्रअले सो रकम निकालेपछि आफैँले अर्को पत्र बनाएर किर्ते हस्ताक्षर गर्दै २९ लाख ३५ हजार रकम निकालेको भेटिएको छ । 

उनीविरुद्ध लिखत किर्ते सम्बन्धी कसुरमा अनुसन्धान थालिएको डीएसपी रायले जानकारी दिए ।