भूकम्पले ५०० भन्दा धेरैको ज्यान लियो, ३ हजारभन्दा धेरै घाइते, मृतकहरूको संख्या तीब्र गतिमा बढ्दै

काठमाडौँ - टर्कीमा सोमबार बिहान दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । यसपछि टर्की सरकारले संकटकालको घोषणा गरेको छ । बीबीसी टर्की सेवाका संवाददाताहरूले भूकम्प प्रभावित क्षेत्रका भवनहरूमा ठूलो क्षति पुगेको जानकारी दिएका छन्।

टर्कीमा उद्धार कार्य द्रुत गतिमा भइरहेको छ तर अधिकारीहरूले अझै धेरै मानिस भग्नावशेषमुनि पुरिएको हुन सक्ने आशंका गरेका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षण ‘युएसजीएस’का अनुसार पहिलो भूकम्प सिरियाली सीमा नजिकै गाजियनटेपको कहानमरास नजिक महसुस गरिएको थियो। युएसजीएसका अनुसार यस भूकम्पको म्याग्निच्युड ७ दशमलव ८ मापन गरिएको थियो । समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पको पहिलो धक्का स्थानीय समयअनुसार बिहान ४.१७ बजे गएको थियो। त्यसको केही मिनेटपछि मध्य टर्कीमा दोस्रो भूकम्पको धक्का महसुस गरिएको थियो ।

टर्कीको राजधानी अंकारा र लेबनान, सिरिया, साइप्रस, प्यालेस्टाइनलगायत अन्य सहरमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

टर्कीका गृहमन्त्री सुलेमान शोयलुले भूकम्पले देशका १० सहर काहमानमार्श, हाते, गाजियन्टेप, ओस्मानी, अदियामान, सानलिउर्फा, मालत्या, अडाना, दियारबाकिर र किलिसमा ठूलो प्रभाव पारेको बताए।