बङ्गलादेशकी प्रधानमन्त्री हसिना राजीनामापछि भागेर भारतमा, अन्तरिम सरकार बनाउने सेनाको घोषणा

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर आईतवार सेनाकाे हेलिकप्टरबाट भारततर्फ भागेका छन् । देशमा प्रदर्शन चर्किँदै गएपछि आईतवार दिउँसो राजीनामाको घोषणा गरेर हेलिकप्टरबाट भारत भागेको हो । हसिना भारत भागेपछि सेना प्रमुख जनरल वकेर-उज-जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानसेनापति उज्जामनले अन्तरिम सरकार गठन हुने घोषणा गरेको हो । उनले राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग छलफल गरेर आईतवार नै समाधान गर्ने बताएको थियो । तर सरकारको नेतृत्व कसले गर्ने भन्ने स्पष्ट भएको छैन ।

राजीनामा दिएलगत्तै हेलिकप्टर चढेर भागेकी शेख हसिना भारतको त्रिपुरा राज्य पुगेको समाचार संस्था एएफपीले जनाएको छ । आन्दोलनकारीले प्रधानमन्त्रीकै निवासमा प्रवेश गरेर प्रदर्शन गरेपछि बहिनीलाई सँगै लिएर देश छाडेको हो। शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर भागेपछि प्रदर्शनकारीहरूले विजयी उत्सव मनाइरहेका छन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्री आवासमा लुटपाटसमेत गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सरकारी जागिरको ठूलो सङ्ख्यामा कोटा प्रणाली लगाउने सरकारी विधेयकको विरुद्धमा विद्यार्थीहरूले शुरू गरेको आन्दोलनले हसिनालाई देशबाटै भाग्नुपर्ने अवस्था ल्याएको हो । यसअघि अघिल्लो हप्ता प्रदर्शन हिंसात्मक बनेर दुई सय जनाभन्दा धेरैको ज्यान गएपछि बङ्गलादेशको सर्वोच्च अदालतले कोटा प्रणाली खारेज गरिदिएको छ । यसबाट विद्यार्थीहरूकाे माग पूरा भए पनि ज्यान गुमाउने, घाइते र पक्राउ परेकाहरूको न्यायका लागि भन्दै प्रदर्शन चलिरहेकाे थियाे । सामान्य अवस्थामा रहेको प्रदर्शन हिजो पुन हिंसात्मक बन्दा ९६ जनाको ज्यान गएपछि आज विद्यार्थीसँगै मजदुरलगायतले पनि प्रदर्शन गरेका हुन् ।

विपक्षी दलहरूको बहिष्कारकाबीच गएको जनवरीमा भएको चुनावबाट हसिना पुनः देशको प्रधानमन्त्रीमा निर्वाचित भएको थियो । बितेको १६ वर्षदेखि बङ्गलादेशको सत्तामा रहेकी शेख हसिना बङ्गलादेशका संस्थापक प्रधानमन्त्री बङ्गबन्धु शेख मुजिबुर रहमानकी छाेरी हुन । शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेको थियो । सन् २००९ यता भने उनले निरन्तर सत्ताको नेतृत्व गर्दै आएको थियो । सन् २००४ मा चुनावी अभियानका क्रममा बम आक्रमण हुँदा उहाँ घाइते भएको थियो । घटनामा कम्तीमा २० जनाको ज्यान गएको थियो ।