आफ्नै घरमा काम गर्ने बालिकामाथि बलात्कार गरेको आरोपमा काठमाडौबाट १ जना पक्राउ

बालिकामाथि बलात्कार गरेको आरोपमा ५४ वर्षीय एक पुरुषलाई घरबाटै पक्राउ गरिएको छ । आफ्नै घरमा घरेलु कामदारको रूपमा काम गर्दै आएकी बालिकामाथि बलात्कार गरेको आरोपमा काठमाडौँ महानगरपालिका १४ कुलेश्वर आवासीय क्षेत्रबाट ती पुरुषलाई पक्राउ गरिएको हो । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको बाल श्रम विरुद्धको अभियान अन्तर्गत महानगर, बाल हेल्पलाइन, बालबालिका खोज तलास केन्द्र १०४, र राष्ट्रिय बाल अधिकार परिषद्को संयुक्त अनुगमन तथा जाहेरी प्रतिवेदनका आधारमा विहिवार उनकै घरबाट पक्राउ गरिएको हो । 

बालिकाले आफू जोखिममा रहेको सूचना दिएपछि अनुगमन टोलीले तयार पारेको प्रतिवेदनका आधारमा पक्राउ गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । गएको ६ वर्षदेखि त्यही घरमा आफू घरेलु कामदारका रूपमा रहेको र गएको ३ वर्षदेखि आफूमाथि जवर्जस्ती करणी गरिरहेको बालिकाले बताएकी छन् । उनी अहिले १७ वर्षकी छिन् ।  

बालबालिकाहरूको अवस्था अध्ययनका लागि महानगरपालिकाले सार्वजनिक यातायात क्षेत्र, होटल रेष्टुरेन्ट तथा होस्टलमा रहेका बालश्रमिक र आफ्ना नातागोताबाहेक अन्य व्यक्तिसँग रहे बसेका बालबालिका सम्बन्धी जानकारी लिन परिचालन गरेका इन्टर्न विद्यार्थीहरूले बालबालिकाको अवस्थाका विषयमा जानकारी लिने गरेका छन् ।

इन्टर्न विद्यार्थीले एकाघरका अभिभावक नभएका बालबालिकालाई विभिन्न प्रश्नहरू सोधेको थियो । अनलाइमार्फत दिइएको प्रश्नमा ती बालिकाले सुरुमा आफूमाथि जबरजस्ती करणी हुने गरेको जानकारी दिएकी थिइनन् । सामान्य कुटपिट गर्ने, बढी काम गर्न लगाउने, गाली गर्ने जस्ता विषयमा मात्रै उनले उल्लेख गरेकी थिइन् । 

तर, बुधबार एकाएक उद्धार टोलीका एक सदस्यलाई आफूमाथि विगत ३ वर्षदेखि जबरजस्ती करणी भइरहेको जानकारी गराएकी थिइन् । सोही आधारमा बिहीबार पक्राउ गरिएको जोशीले बताए । प्राप्त गरिएको जानकारी र संयुक्त अनुगमन टोलीले गरेको अनुगमनपछि तयार पारिएको प्रतिवेदनले बालिकामाथि यौनजन्य दुव्र्यवहार भएको देखिएको प्रमुखको सचिवालय सदस्य धिरज जोशीले बताए । 

‘यो प्रतिवेदन आफैँमा जाहेरी हो । हामीले बालिकाका अभिभावकलाई पनि बोलाएका छौँ । अब कारबाही प्रक्रिया अगाडि बढ्छ,’  उनले भने । आरोपित व्यक्तिलाई कालीमाटी प्रहरी वृत्तमा राखिएको छ । अहिलेसम्म जोखिममा रहेका २७ जना बालिका र २४ जना बालक गरी ५१ जना बालबालिकालाई  उद्धार गरिसकिएको महानगरले जनाएको छ । जसमध्ये २३ जनालाई अस्थायी संरक्षण गृहमा राखिएको छ । सुरक्षा, शिक्षादीक्षा तथा स्वास्थ्योपचार सुनिश्चित गरेर बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको जोशीले बताए ।