ललितपुरलाई हराउँदै कर्णालीले जित्यो एभरेष्ट महिला भलिबल लिगको उपाधि

एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्विसले जितेको छ । हिजो बेलुका त्रिपुरेश्वरको कभर्ड हलमा भएको फाइनल खेलमा कर्णालीले ललितपुर क्वीन्सलाई ३–२ को सेटमा हराउँदै उपाधि जित्यो ।

सुमित्रा रेग्मीको कप्तानीमा रहेको कर्णालीले सुरुवाती दुई सेटमा अग्रता बनाए पनि लगातार दुई सेट गुमाएपछि खेल अन्तिम तथा पाँचौँ सेटमा लम्बिएको थियो । अन्तिम सेटमा १५–१३ ले आफ्नो पक्षमा पार्दै कर्णालीले ट्रफी उचालेको हो ।

त्यसअघि शुरुको दुई सेट कर्णाली २५–१७, २५–२० ले जितेको थियो । सलिना श्रेष्ठ कप्तानीमा रहेको ललितपुरले तेस्रो सेट २५–१२ र चौथो सेट २८–१८ ले जित्यो । कर्णालीले लिग चरणमा पनि ललितपुरलाई हराएको थियो । ललितपुरले हारेको कर्णालीसँग मात्र हो ।

कर्णालीले अपराजित रहँदै उपाधि प्राप्त गर्‍याे। प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरेकामा शीर्ष दुई टोली फाइनल पुगेका थिए ।