आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली हुनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले राति कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

कोसी प्रदेशको तराइका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणमा छ । सिक्किम आसपासको न्यूनचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिन्छ । जसका कारण कोसी प्रदेशका केही स्थानमा भारी वर्षको सम्भावना छ ।