जापानमा हुने कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई बोलाएर मानव तस्करी गरिएको खुलासा भएको छ । असम्बन्धित व्यक्तिलाई कर्मचारी बनाएर जापान लैजाने प्रयास गरेको आरोपमा ७ जना पक्राउ परेसँगै घटना बाहिरिएको हो । कोशी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री अधिकारी मन्त्रिपरिषद्लाई जानकारी नगराई जापान गएका थिए ।
उनीसँगै सचिवालय कर्मचारी बनाएर अन्य तीन जनालाई जापान लैजान खोजिएको घटनामा सातजना पक्राउ परेका हुन् । जापान जान खोज्नेमा जनक राई, दावा शेर्पा, देवकोटा थरका एक जना छन् ।
उनीहरूसँग मन्त्रालयको कर्मचारीको नक्कली कार्डसमेत फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई हिरासतमा राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ । घटनाका विषयमा प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि पुष्टि गरेको छ । घटनाका संलग्न गिरोह पक्राउ परेपछि अधिकारीले बुधवार राजीनामा दिएका छन् ।