नेपाल राष्ट्र बैंकले विदेशी भाषा परीक्षा सञ्चालन गर्ने एजेन्सीलाई पनि विदेशी मुद्रा सटही सुविधा व्यवस्था गरेको छ । केन्द्रीय बैंकले त्यस्ता एजेन्सीका लागि १५ हजार अमेरिकी डलरसम्मको सुविधा दिने व्यवस्था गरेको हो । केन्द्रीय बैंकले एकीकृत निर्देशनमा नयाँ व्यवस्था थप गर्दै विदेशी भाषा परीक्षा सञ्चालन गर्ने एजेन्सीलाई पनि विदेशी मुद्रा सटही सुविधा थप गरेको हो ।
राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार विदेशी संस्थाले नेपालमा सञ्चालन गर्ने भाषा परीक्षा वा मानकीकृत परीक्षण सेवा आयात गर्न विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराइएको हो । यस व्यवस्था अनुसार टोफेल, आईईएलटीएस, जीआरई, जिम्याट, स्याट लगायत सेवा आयात गरेका नेपाली संस्थाले त्यसबापत भुक्तानीका लागि प्रतिपटक १५ हजार डलरसम्मको सटही सुविधा उपलब्ध हुने केन्द्रीय बैंकले जनाएको छ ।
त्यसका लागि सम्बन्धित एजेन्सीले आवश्यक कागजात बैंकमा पेस गर्नुपर्ने छ । तर, यस्तो सेवाका लागि एजेन्सीले नियामक निकायको सिफारिस लिन अनिवार्य नहुने केन्द्रीय बैंकले जनाएको छ ।