झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवती प्रसाद पन्त सहितका पदाधिकारी विरुद्ध भष्ट्राचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनालको प्रतिष्ठानलाई सर्पपालन कार्यक्रममा १७ करोड ९८ लाख हिनामिना भएकाे भन्दै मधेश प्रदेशका मन्त्रीसहित सातविरुद्ध मुद्दा दायर भएको छ। उनीहरुले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुदा दायर गरेको हो ।  अख्तियारले उनीसँग १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ असुलउपर गर्न माग गरेको छ । 

अख्तियारले मुद्दा दायर गरेका अन्यमा लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मानबहादुर खड्का, मधेश प्रदेशका तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठ, तत्कालिन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका सञ्चालक समितिका पदाधिकारीहरु अध्यक्ष रेवती प्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र राय रहेका छन् । 

सर्लाहीको लालबन्दी नगरपालिकामा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालको सहकार्यमा एन्टी–भेनम प्रोडक्सन् एण्ड रिसर्च सेन्टर, नेपाल (एपीआरसीएन) स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने कार्यमा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धान हुँदा सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका निमित्त भौतिक संरचना निर्माण गर्ने क्रममा उनीहरुले आर्थिक अनियमितता गरेको पाइएको अख्तियारले जनाएको छ । उनीहरुले सरकारी सम्पत्ति हानिनोक्सानी गरेको ठहर अख्तियारको छ ।