महानगरभित्र अनुचित व्यापारिक क्रियाकलाप गर्ने सात कम्पनी तथा फर्म काठमाण्डौ महानगरको कारबाहीमा

काठमाण्डौ महानगरपालिकाले बितेको साढे तीन महिनामा अनुचित व्यापारिक क्रियाकलाप गर्ने व्यापारी तथा व्यवसायीहरुलाई नौ लाख ६० हजार रुपैयाँ जरिबाना तिराएको छ । खानेकुरामा स्वच्छताको पहलका लागि महानगरले शुरु गरेको अभियानमा चार महिनामा ७ वटा कम्पनी तथा फर्मलाई कारबाही गरेको महानगरको कृषि तथा पशुपन्क्षी विभागका प्रमुख एवम् खाद्य निरीक्षक डा अवधेश झाले जानकारी दिए ।

डा झाका अनुसार शिलबन्दी पानीमा कीरा र लेउ भेटिएपछि त्रिकोण वेभरेज इन्डष्ट्री (बालाजु) ले १ लाख रुपैयाँ जरिबाना तिरेको थियो । यसैगरी पेय पदार्थमा ढुसी भेटिएपछि कालिञ्चोक ट्रेडिङ् नेपाल (पुतली सडक) ले १ लाख ५० हजार जरिबाना तिरेको थियो । टिपटप समोसा पसलमा बिग्रिएको दूधवरी बिक्री गरेको अवस्थामा पाइएपछि २ लाख रुपैयाँ, बरुण वेभरेजलाई पेय पदार्थमा अखाद्य वस्तु भेट्टाएपछि २ लाख रुपैयाँ जरिबाना तिराइएको झाले बताए ।

यस्तै भीम स्टोरलाई म्याद सकिएका बियर आपूर्ति गरेकोले २ लाख रुपैयाँ, भृकुटीमण्डपको पीजी खाजा घरलाई समोसामा साङ्ला भेटिएपछि १० हजार रुपैयाँ, र बुढानीलकण्ठको पशुपति स्प्रिङ् वाटरलाई खानेपानीमा कीरा र लार्भा भेटिएकोले १ लाख रुपैयाँ जरिबाना गरिएको हो ।

महानगरको अनुगमन टोलीले साउनदेखि अहिलेसम्ममा ४३ दिन अनुगमन गरेको अनुगमन टोलीका सम्पर्क व्यक्ति पुष्कर खड्काले जानकारी दिए महानगरले अनुगमन सम्बन्धी जानकारी दिन आयोजना गरेको बैठकमा तिहारमा प्रयोग गरिने भाइ मसला, मिठाइ, फलफूल, जुसजस्ता खाद्य वस्तुमा हुन सक्ने मिसावट तथा अनुचित लाभ रोक्नु पर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा काठमाण्डौ महानगरपालिकाकी उपप्रमुख एवम् बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलले बजारमा अनुचित क्रियाकलाप गर्ने, मूल्य, गुणस्तर, नाप तौलमा उपभोक्तालाई ठगी गर्ने तथा कृतिम अभाव सिर्जना गर्ने व्यापारीलाई जरिबाना गर्नुपर्ने तर त्यसबेला कसुरका आधारमा कारबाही गर्नुपर्ने बताएको थियो ।