एनपिएलमा आज जनकपुरले लुम्बिनीसँग तथा चितवनले सुदूरपश्चिमसँग खेल्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा आइतबार दुई खेल हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा बिहान सवा ९ बजे  जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुनेछ। जनपुर बोल्ट्स यसअघिका तीनै खेलमा विजयी भएको छ भने लुम्बिनी तीनै खेलमा पराजित भएको थियो।

जनपुरले पहिलो खेलमा विराटनगरलाई  ८ विकेटले, दोस्रो खेलमा कर्णालीलाई ८ विकेटले र तेस्रो खेलमा पोखरालाई ७ विकेटले पराजित गरेको थियो। लुम्बिनी पहिलो खेलमा विराटनगरसँग २ विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले र तेस्रो खेल सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको थियो।

लुम्बिनी लिगमा पहिलो जितको खोजीमा छ। दिउँसो सवा १ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज् भिड्दैछन्। सुदूरपश्चिम अघिल्ला तीनै खेल जितेर अंक तालिकाको शीर्षस्थानमा छ।

उसले पहिलो खेल विराटनगरलाई ९० रनले, दोस्रोमा कर्णालीलाई ७३ रनले र तेस्रो खेलमा लुम्बिनीलाई ४५ रनले पराजित गरेको थियो। चितवन राइनोजले तीन खेल खेलेकोमा १ खेल मात्रै हारेको छ।

चितवनले पहिलो खेलमा काठमाडौंलाई ५ विकेटले र दोस्रो खेलमा पोखरालाई ८७ रनले पराजित गरेको थियो। तेस्रो खेलमा भने कर्णालीसँग ६ विकेटले पराजित भएको थियो। जनकपुरमा आशिफ शेख, लुम्बिनीमा रोहित पौडेल, चितवनमा कुशल मल्ल र सुदूरपश्चिममा दिपेन्द्रसिंह ऐरी मार्की खेलाडी छन्।