रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, मुकुल ढकाललाई कारबाहीबारे छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटीको बैठक आज बिहान बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा बिहान ८ बजे बस्ने बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनकाअनुसार पार्टीको अनुशासन आयोगले डा. ढकालमाथिको अनुशासनात्मक कारबाहीको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ। त्यसबारे आइतबार बसेको सचिवालय बैठकमा प्रारम्भिक छलफल भएको उनले बताए। समीक्षा यात्राको प्रतिवेदन मिडियामा चुहाएकोबारे गत असार १४ गते पार्टीको अनुशासन आयोगले डा. ढकाललाई सात दिने स्पष्टीकरण सोधेको थियो। त्यो स्पष्टीकरणको जवाफ ढकालले पार्टी कार्यालयमा दर्ता गराएको बताएका छन्।

गत असार १९ गते बसेको केन्द्रीय कमिटीको बैठकले ढकाललाई पार्टी महामन्त्रीबाट सात दिनका लागि निलम्बन गरेको थियो। कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई र प्रवक्ताको जिम्मेवारी मनीष झालाई दिएको थियो। आजको बैठकले थप कारबाही गर्ने तयारी गरेको एक केन्द्रीय सदस्यले बताए। उनकाअनुसार आज बस्ने बैठकले ढकाललाई केन्द्रीय सदस्यको भूमिका मात्रै दिएर महामन्त्रीको जिम्मेवारी अरूलाई नै दिने सम्भावना छ।

गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा निर्वाचनमा पार्टीले जमानत जोगाउन नसकेपछि रास्वपाले महामन्त्रीलाई देश दौडाहामा पठाएको थियो। ढकालले ३८ जिल्लाका नेता कार्यकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गरेर ३२ पेज लामो प्रतिवेदन बुझाएका थिए।प्रतिवेदनका अंश सभापतिलाई बुझाउनुअगावै बाहिर सार्वजनिक गरेको भन्दै ढकालमाथि अनुशासनको कारबाही चलेको हो।