हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा मंगलबार पनि सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ । मनसुनी वायुको प्रभावले हाल देशका पहाडी भू-भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ।
बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ।
कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पनि महाशाखाको प्रक्षेपण छ। राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।