झापाको हल्दिबारीमा भूमि आयोगका तीनजना कर्मचारी घुससहित पक्राउ

झापा, राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी हल्दिबारीमा घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा जुम्ला जिल्लाको सिजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका ४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका ८ का २३ वर्षीय कमल खनाल रहेका छन् । हल्दिबारी गाउँपालिकामा खटिएका राष्ट्रिय भूमि आयोगका ती कर्मचारीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । 

आइतबार राति १० बजे जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उनीहरूलाई फेला पारेका थिए । हल्दिबारी वडा नं १ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार लिएपछि घटना सार्वजनिक भएको हो। पौडेलले उनीहरुविरूद्ध  जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराएपछि  सोमवार दिउसो प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेर अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए ।